वाटर एटिएमको प्रयोग बढ्दो

२ ० ७ ९ मंसिर २ १ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौं महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो ।

वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका काठमाडौंमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटिएम सञ्चालनमा रहेका छन् । काठमाडौंमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम सञ्चालनमा छन् । त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एशोसियशन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन् ।

भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिए । वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ ।

मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ । काठमाडौंको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आएका माईक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताए ।

 “थोरै प्यास लाग्दा पनि पहिला २५÷३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ”, उनले भने ।

 त्यसैगरी काठमाडौंको चक्रपथ नजिकै रहेको शङ्खपार्क परिसरमा रहेको वाटर एटिएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रो लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैँसा साट्दा सिक्का नआउने समस्या रहेको बताए । साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उनको भनाइ छ ।