बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौं-सुर्खेत रुटमा नियमित उडान प्रारम्भ

२ ० ७ ९ पुष १ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौं-सुर्खेत-काठमाडौं रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको भएको हो ।

प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।