एनसेल फाउन्डेसनको ‘ओरेन्ज द स्कुल’अभियान
काठमाडाैं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लबअफ काठमाण्डौले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’अभियान संचालन गरिहेका छन् ।
यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो ।
अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराईसकिएको छ ।
जोन्टा क्लब अफ काठमाण्डौकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन् । ‘ओरेन्ज द स्कूल’अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ ।’
एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् ‘ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पु¥याएको छ । युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ । अहिलेको बदलिदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनिकरणका लागि साइबर सुरक्षा र डेटा प्राइभेसी जस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरुमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकोमा हामी खुसी छौं र हामीलाई विश्वास छ हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ ।’
यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ ।
२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत काठमाण्डौ उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।