कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ, प्रदेशकाे रिपाेर्ट नेगेटिभ

२ ० ७ ७ श्रावण २ ४ गते, शनिबार प्रकाशित
0 प्रतिक्रिया

विराटनगर– १० का ६३ वर्षिय रमेश अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार आफन्तको कोशी अस्पताल लगे ।

मृगौला रोगी अग्रवाललाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनलाई फिबर क्लिनिकबाट स्वाब संकलन गरी घर पठाइयो ।

शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट आएको थिएन् । स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागे । इमरजेन्सीमा भर्ना गरी प्रतिष्ठानले कोरोना जाँच गर्न भन्दै पून स्वाब संकलन गर्याे । काेशीकाे रिपाेर्ट ढिलाे भएकाले प्रतिष्ठानले स्वाब संकलन गरेकाे थियाे ।

इमरजेन्सीमा भर्ना गरेर उपचार गर्ने क्रममा उनको मृत्यु भयो । तर रिपोर्ट भने फरक फरक आएको छ ।

बिहीबार कोशीमा संकलन गरेको स्वाबमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार प्रतिष्ठानले संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा परीक्षणका लागि पठाएको स्वाबमा काेराेना नेगेटिभ देखिएको छ ।

प्रतिष्ठानले संकलन गरेको स्वाबमा नेगेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले शव आफन्तको जिम्मा लगाइदिएको छ । आफन्तले शनिबार अन्त्ष्ठी गरेका छन् ।

एउटै व्यक्तीको २४ घण्टा नबित्दै परीक्षण गर्दा फरक रिपोर्ट आएपछि शव नेपाली सेनाले अन्त्ष्ठी गर्ने र आफन्तको जिम्मा लगाउने भन्दै विवाद भएको थियो । विराटनगर महानगरपालिकाले थोरै मलामीको उपस्थीतिमा अन्त्ष्ठी गर्नुपर्ने सर्तसहित मृतकको शव आफन्तको जिम्मा लगाएको छ ।

मृतकको रिपोर्ट फरक आएपनि उनका आफन्तको पीसीआर जाँच गरिने विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘पीसीआर जाँच गर्दा कहिलेकाही नदेखाउन सक्छ् ।’ उनले भने ‘ २५ प्रतिशतमा नदेखिने समस्या आउनसक्छ् ।’

 

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पोर्टेवल पीसीआर मेसिन छ । जसले अन्य मेसिनको तुलनामा छिटो रिजल्ट दिन्छ । कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इमरजेन्सी जाँचका लागि प्रदेशमा पठाउने गर्छन् । यस अघि काेशीमा मृत्यु भएका चार जनाकाे रिपाेर्ट प्रदेशबाट पाेजेटिभ देखिएकाे थियाे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका सूचना अधिकारी प्रकाश कार्की स्वाब संकलनमा ध्यान नदिए रिपोर्टमा फरक आउन सक्ने बताउँछन् ।

भाइरस लोड कम देखिए पोजेटिभ नदेखाउने बताउँदै उनले २० प्रतिशत नेगेटिभ देखाउन सक्ने सम्भावना रहने बताए । रिपोर्टमा गडबढ देखिएकाले अग्रवालकाे स्वाब सुरक्षित राखिएको बताए ।