भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति : मन्त्री नेम्वाङ

२ ० ७ ७ मंसिर १ ८ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताएका छन् ।

आर्थिक वर्ष २०७७र७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए ।

मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहीनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए। उनका अनुसार समस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन ।

उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताए ।

उनले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको बताए। राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

समयानुसार विकासको माग र मोडेल फरक हुने उनले बताए । उनले भने, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताए । भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने मन्त्रालय भएको र यहीअनुसार काम पनि गरिरहेको बताए ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिए । उनले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिनसमेत निर्देशन दिए ।