।।जापानमा ७८ नेपाली विद्यार्थीको भिसा रद्द, कारण के हो।।

२ ० ७ ७ मंसिर १ ५ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं

जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो ।

ओकिनावाको उरासोमा जापान ल्याङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब बसोवास अनुमति नवीकरण गर्न नपाउने ओकिनावा टाइम्सले जनाएको छ ।

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ ।

यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ ।
गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् ।

६ महिनाको लागि बसोवास बनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।