यतीका उडान स्थगित ,आज शोक बिदा

काठमाडौँ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।
दुर्घटनामा परेका ७२ जनामध्ये अहिलेसम्म ६९ जनाको शव भेटिएको बताइएको छ ।
घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
यतीद्वारा आजको उडान स्थगित
पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ ।
विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यती एयरलाइन्सले जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ ।