।। दमौलीमा निषेधाज्ञा जारी, के हो विवाद ।।

२ ० ७ ७ मंसिर १ ७ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौ

तनहूँको एक पुल उद्घाटनको विषयमा विवाद हुँदा तनहूँमा तनाव उत्पन्न भएको छ । विवाद बढ्दै गएपछि तनहूँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

आज मध्यान्ह १२ बजेदेखि साँझ ५ बनेसम्म निषेधाज्ञा जारी भएको हो । राजनीतिक रंग दिएर भिडन्त पनि हुन सक्ने देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी भएको हो । मध्यान्ह १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

कांग्रेस निकटहरु पुल उद्घाटन गर्ने तयारीमा छन् भने नेकपा निकटहरु कुनै पनि हालतमा उद्घाटन गर्न नदिने पक्षमा उभिएका छन् ।
यो विवाद बढ्दै गएपछि तनहूँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पुल र दमौली बजारमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । जनपथ र सशस्त्र प्रहरी परिचालन भएको बताइएको छ । दमौलीमा मंगलबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

कसरी भयो विवाद


उद्घाटनको तयारी गर्दा विवाद भएको पुल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला तनहूँमा व्यस्त छन् । उनले मंगलबार दुई पुल उद्घाटन गरे भने आज पनि एक पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

तनहूँको व्यास नगरपालिकाको तालघरे र दुम्कीचौर जोड्ने बुल्दीखोला पुल एक वर्ष अघि नै निर्माण सम्पन्न भएको थियो । त्यो बेला दुवैतर्फ सडक पिच नगरिए पुल नै जोखिममा पर्ने भन्दै उपभोक्ता समितिले उद्घाटन गर्न रोकेको थियो ।

अहिले दुवैतर्फ सडक पिच भइसकेपछि उपभोक्ता समिति पुल उद्घाटनको तयारीमा जुटेको थियो । पुल उद्घाटनका लागि तयारीमा उद्घाटन गर्ने व्यक्ति नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको नाम समेत लेखेर प्लेट टाँसिएको थियो । उक्त प्लेट प्रहरीले उप्काएर नगरपालिकाको प्रांगणमा राखेको छ ।