प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ आज

२ ० ७ ९ पुष १ १ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

शीतलनिवासमा दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे शपथ ग्रहरण गराउने छिन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री दाहालको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरेको राष्ट्रपतिका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल नेकपा एमालेसहितका दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । दाहाललाई राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि दाहालले प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमालेसहित सात राजनीतिक दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन जुटाएर राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । सोहीअनुसार दाहाल तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।