व्यक्ति हाबी भएपछि गठबन्धन भत्कियो

२ ० ७ ९ पुष १ ३ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं:  नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठक पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ । बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।

उनले भने, ‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको परिणामस्वरूप अहिले परिस्थिति बन्यो भन्ने नै हाम्रो निष्कर्ष रह्यो।’

अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने उनले बताए । सहमहामन्त्री बद्री पाण्डेले पार्टीको प्रदेश संसदीय दलको निर्वाचनबारे छलफल गर्न आफूहरु भेला भएको प्रतिक्रिया दिए।

‘प्रदेशहरुमा दलको चुनाव हुँदैछ, त्यही बारे छलफल भएको हो,’ उनले भने।सहमहामन्त्री पाण्डेले केन्द्रीय कार्यसमिति बैठक अघि फेरि आफूहरु बसेर धारणा बनाउने पनि बताए।‘केन्द्रीय कार्यसमिति बैठक पहिले फेरि बसेर धारणा बनाउँछौं,’ उनले भने।

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी थिए।