मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

२ ० ८ ० चैत्र २ ५ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया


विराटनगर । आठांै संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाण्डौले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि  केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरि टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।
प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार पाए ।
बेस्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ  पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।
फाइनलमा सांग्रीलाले २५ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाए । ३५ औं मिनेटमा सांग्रीालका सुशिल राईले गोल गर्ने अवसर खेर फाले । ४२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेपीनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो । ४३ औ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफसम्म गोल रहित खेल बराबारीमा  सकियो । ५४ औं मिनेटमा सांग्रीलाका बिकेक पौडेलले मध्यभाग बाट निकालेको पासलाई सुशिल राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ८३ औं मिनेटमा स्टिेफिन विनङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीालका गोलकिपर बिसाल सुनारले बिफल पारिदिए ।
हारपछि सांग्रीला मोरङका  प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा  गोलआत्मसाथ गर्न पुगेको बताए । ‘मोरङका कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’ सांग्रीलाका कप्तान अभिषेक लिम्बुले भने, ‘ मच्छिन्द्र बलियो टिम हो । हामीले सक्दो प्रयास गर्दागर्दै पनि हार खेप्नुपर्यो ।’
जित हातपारेपछि मच्छिन्द्रका  प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा गोल हुन नसकेपछि हामीले खेल जितेको बताए । ‘यसमा हामी खुसी रहेका छौ,’ उनले भने । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न हामी पहिलाबाटै मानषिक रुपमा तयार रहेको बताए । ‘दबावको बावजुद पहिलो पटक विराट गोल्डकपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उनले भने, ‘यो सँगै हामीले इतिहास पनि रचेका छौं ।’  
बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।